बीरगन्ज,२३ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पुल्चोकस्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर बयान दिन आग्रह गरेको हो। विभागका अनुसार जयवीरको ठेगानामा पटक–पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना जारी गरिएको हो।
यसअघि अनुसन्धान टोलीले सोमबार काठमाडौंको बूढानीलकण्ठस्थित उनको स्थायी ठेगानामा पुगेर उपस्थित हुनुपर्ने सूचना टाँस गरेको थियो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम उनलाई अनुसन्धानका लागि बोलाइएको विभागले जनाएको छ।
विभागले सूचनामा उल्लेख गरेअनुसार सार्वजनिक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उपस्थित नभए कानुनबमोजिम आवश्यक थप प्रक्रिया अघि बढाइनेछ।
जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्कामा भएको भनिएको वित्तीय अनियमिततासम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। ती उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संयुक्त रूपमा अनुसन्धान अघि बढाइरहेका छन्।
यसअघि यही प्रकरणमा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाका नाममा पनि पुर्जी जारी गरिएको स्रोतले जनाएको छ।




