spot_img

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

spot_img
spot_img

बीरगन्ज,२३ असार । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले मंगलबार बिहान नतिजा प्रकाशित गर्दै पूरक परीक्षामा सहभागी विद्यार्थीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा १ लाख २९ हजार १ सय १४ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ८३ हजार ५ सय २३ जना वर्गीकृत (ग्रेड प्राप्त) हुन सफल भएका छन्।

पूरक परीक्षाको नतिजासँगै यस वर्षको एसईईमा समग्र उत्तीर्ण दर ८५.३७ प्रतिशत पुगेको बोर्डले जनाएको छ। नियमिततर्फ एसईईमा ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थी सहभागी भएका थिए। यद्यपि, मूल परीक्षामा ननग्रेडेड भई ग्रेडवृद्धिका लागि योग्य रहेका १७ हजार ३ सय ९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी भएनन्।

बोर्डका अनुसार विद्यार्थीले नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का वेबसाइट, विभिन्न सूचना तथा टेलिफोन सेवा प्रदायकका वेबसाइट, आईभीआर, एसएमएस र यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन्। साथै, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका पुनरवलोकन तथा पुनः परीक्षणका लागि असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन सक्नेछन्। यससम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा उपलब्ध रहेको बोर्डले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय