spot_img

बारामा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ सुस्त, १३ प्रतिशत क्षेत्रफलमा मात्रै खेती

spot_img
spot_img

बीरगन्ज,२३ असार । पर्याप्त मनसुनी वर्षा नहुँदा बारा जिल्लामा यस वर्ष धान रोपाइँ उल्लेख्य रूपमा प्रभावित भएको छ। असारको तेस्रो सातासम्म पनि अधिकांश किसान आकाशे पानीकै प्रतीक्षामा रहेकाले रोपाइँले अपेक्षित गति लिन सकेको छैन।

कृषि ज्ञान केन्द्र बाराका अनुसार असार २२ गतेसम्म जिल्लाको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५ हजार ८६३ हेक्टर जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको छ। यो कुल अनुमानित ४५ हजार १०० हेक्टर खेतीयोग्य क्षेत्रफलको करिब १३ प्रतिशत मात्र हो।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म जिल्लाको करिब १९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको थियो। यस वर्ष भने रोपाइँको दर गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको छ।

मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा नहुनु नै रोपाइँ ढिलाइको मुख्य कारण रहेको कृषि कार्यालयले जनाएको छ। पानीको अभावका कारण ब्याड राख्ने, खेत जोत्नेदेखि रोपाइँसम्मका काम प्रभावित हुँदा किसानहरू समस्यामा परेका छन्।

यद्यपि, केही स्थानीय तहमा उपलब्ध सिँचाइ प्रणालीको उपयोग गर्दै किसानहरूले रोपाइँ जारी राखेका छन्। आगामी दिनमा मनसुन सक्रिय भई पर्याप्त वर्षा भए रोपाइँले तीव्रता लिने अपेक्षा कृषि ज्ञान केन्द्रले गरेको छ।

गत आर्थिक वर्षमा भने बारामा धान खेती उत्साहजनक रहेको थियो। कृषि ज्ञान केन्द्रका अनुसार ४६ हजार २० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएकोमा ४५ हजार ९९ हेक्टर अर्थात् करिब ९८ प्रतिशत क्षेत्रफलमा सफलतापूर्वक रोपाइँ सम्पन्न भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय