बीरगन्ज,२३ असार । प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह र अन्य राजनीतिक नेताविरुद्ध सामाजिक सञ्जालमा अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
फाल्गुनन्द गाउँपालिका–७, डोबाटेका पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएपछि अदालतले प्रारम्भिक सुनुवाइका क्रममा थुनामा राखेर मुद्दाको अनुसन्धान तथा सुनुवाइ अघि बढाउन आदेश दिएको हो। जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले आदेशको पुष्टि गरेका छन्।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा सामग्री प्रसारण गरेको विषयमा पक्राउ परेपछि विभिन्न स्थानबाट विरोध भएपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।
तर, सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
अभियोगपत्रमा पोखरेलले युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रधानमन्त्री शाह तथा उनका परिवारलाई लक्षित गरी मान–सम्मान र प्रतिष्ठामा आँच पुग्ने किसिमका अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गर्दै भिडियो र स्टाटस सार्वजनिक गरेको आरोप उल्लेख गरिएको छ। हाल उक्त मुद्दामाथि जिल्ला अदालत पाँचथरमा कानुनी प्रक्रिया अघि बढिरहेको छ।




