महोत्तरी,२३ असार । साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिर साउने मेलाको तयारीमा जुटेको छ। ‘मधेसको कैलाश’का रूपमा परिचित यस धार्मिकस्थलमा सरसफाइ, रङरोगन तथा साजसज्जाका काम तीव्र बनाइएको मन्दिर संरक्षण समितिले जनाएको छ।
मन्दिर परिसरका साथै आसपासका चुरेथुम्कामा रहेका रुखहरूलाई समेत आकर्षक रङरोगन गरी कलात्मक ढंगले सजाइँदै छ। साउनभरि दर्शनका लागि आउने हजारौं श्रद्धालुलाई सहज र आकर्षक वातावरण उपलब्ध गराउने उद्देश्यले यस वर्ष विशेष तयारी गरिएको समितिको भनाइ छ।
यस वर्ष साउने मेला साउन १ गतेदेखि साउन पूर्णिमा (भदौ १२ गते) सम्म सञ्चालन हुनेछ। विशेषगरी साउनका सोमबार भगवान् शिवको दर्शन गर्न भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले आवश्यक व्यवस्थापनलाई प्राथमिकता दिइएको मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवले बताए।
टुटेश्वरनाथ महादेव मन्दिर वर्षभरि नै दर्शनार्थीको गन्तव्य भए पनि साउन, महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा विशेष मेला लाग्ने गर्दछ। बागमती र कोशी प्रदेशका साथै भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशबाट समेत ठूलो संख्यामा श्रद्धालु यहाँ आउने गरेका छन्।
चुरे पहाडको थुम्कामा अवस्थित भएकाले यस मन्दिरलाई भगवान् शिवको बासस्थान कैलाशसँग तुलना गर्दै ‘मधेसको कैलाश’ भनिन्छ। स्थानीय धार्मिक परम्पराअनुसार त्रेतायुगमा मिथिलाका राजा जनक तथा द्वापरयुगमा अर्जुनले यस क्षेत्रमा तपस्या गरेको विश्वास रहेको छ। प्राचीन शिवलिङ्गका कारण पनि यो स्थान धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण माण्डवीगंगा नदीको किनार, हरियाली वन र पहाडी वातावरणले टुटेश्वरनाथलाई धार्मिकसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि स्थापित गरिरहेको छ। पछिल्ला वर्षहरूमा मधेस प्रदेश सरकार र स्थानीय समुदायको पहलमा मन्दिर क्षेत्रको पूर्वाधार विकास तथा संरक्षणका काम अघि बढेका छन्।
स्थानीयवासीले भने टुटेश्वरनाथलाई राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार यस क्षेत्रको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विस्तारमा थप लगानी हुन सके धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको छ।




