काठमाडौँ,२३ असार । पशुसेवा विभागले बर्डफ्लु नियन्त्रण अभियानका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिस्वरूप प्रभावित किसानलाई एक साताभित्र ५२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ।
विभागका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा किसानलाई ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइनेछ। विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक प्रक्रिया पूरा गरेका किसानको बैंक खातामै क्षतिपूर्ति रकम जम्मा गरिने जानकारी दिए।
उनका अनुसार असार मसान्तभित्र रकम लिन नसकेका किसानलाई आगामी आर्थिक वर्षमा पनि क्षतिपूर्ति उपलब्ध गराइनेछ। यसका लागि पन्छी तथा पन्छीजन्य सामग्री नष्ट भएको प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन विभागले किसानलाई आग्रह गरेको छ।
बर्डफ्लु सङ्क्रमणबाट हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्ला प्रभावित भएका छन्। विभागका अनुसार हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।




