काठमाडौँ,२३ असार । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा देशभर घरजग्गा कारोबारमा सुधार देखिएको भए पनि प्रदेशगत रूपमा यसको प्रभाव समान देखिएको छैन। नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार बागमती प्रदेशमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढ्दा मधेश प्रदेशमा भने कारोबार घटेको छ।
सोमबार सार्वजनिक गरिएको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनअनुसार बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार ३३.०१ प्रतिशतले वृद्धि भएको छ। तर मधेश प्रदेशमा यही अवधिमा कारोबार ४.७९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ११ महिनामा देशभर घरजग्गा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष भने यस्तो कारोबार ४.५२ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा लिखत पारितअन्तर्गत कुल कारोबार ०.६२ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
मूल्यका आधारमा पनि घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब सात अर्ब रुपैयाँ थियो।
घरजग्गा कारोबारबाट सरकारको राजस्व संकलन पनि २३.७२ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।




