काठमाडौं, २३ असार । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र प्रदान गरेका छन्।
आयोगको उपाध्यक्ष पद रिक्त भएपछि यसअघि आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित केही पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा अब डा. देवेन्द्र खत्री नियुक्त भएका हुन्।




