वीरगञ्ज, २३ असार । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठी निवासी २५ वर्षीय दलित युवा वृजेश राम बेपत्ता भएको ९ दिन बितिसक्दा पनि उनको अवस्था खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको जनाइए पनि प्रहरीले हालसम्म उनलाई फेला पार्न नसकेपछि परिवार चिन्तित बनेको छ भने स्थानीयस्तरमा समेत घटना रहस्यमय बन्दै गएको चर्चा छ।
परिवारका अनुसार वृजेशलाई विशेष काम रहेको भन्दै फोन गरेर गाउँनजिकैको एक बगैँचामा बोलाइएको थियो। त्यसपछि उनी सम्पर्कविहीन भएका हुन्। परिवारले उनलाई अपहरण गरी बेपत्ता पारिएको आशंका व्यक्त गरेको छ।
वृजेशका नाना रामअशिष रामका अनुसार बगैँचामा पुगेपछि ८–९ जनाको समूहले उनलाई एकान्तमा लगेर कुटपिट गरेको सूचना परिवारले पाएको छ। उनका अनुसार कुटपिट भइरहेकै बेला वृजेशले आफ्ना भिनाजु प्रमोद रामलाई फोन गरी आफूलाई केही व्यक्तिले बगैँचामा बाँधेर कुटपिट गरिरहेको र तत्काल उद्धार गर्न आग्रह गरेका थिए।
त्यसको केहीबेरमै उनकी आमा मञ्जु राम र भिनाजुले घटनास्थल आसपासका बगैँचा तथा बारीहरूमा खोजतलास गरेका थिए। तर वृजेशको कुनै अत्तोपत्तो लाग्न सकेन। त्यसयता उनी परिवारको सम्पर्कमा आएका छैनन्।
परिवारका अनुसार घटनाको दिन बिहान करिब ८ बजे वृजेश आफ्नी आमा मञ्जु रामसँग मोटरसाइकलमा धोबिनी गाउँपालिकास्थित आफ्नी दिदीको घरतर्फ गएका थिए। बाटोमा वर्षा सुरु भएपछि आमा–छोरा केहीबेर रोकिएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेको परिवारको भनाइ छ।
घटनाको सत्यतथ्य सार्वजनिक गर्न, वृजेशको अवस्था पत्ता लगाउन तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजुरी दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले भने वृजेशको खोजी तथा घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीका अनुसार घटनासँग सम्बन्धित केही स्थानीय तथा शंकास्पद व्यक्तिसँग सोधपुछ गरिएको भए पनि हालसम्म बेपत्ता युवकको अवस्था पत्ता लाग्न सकेको छैन।
वृजेशका मामा वीरबल रामले घटनाको ९ दिन बितिसक्दा पनि परिवारले कुनै ठोस जानकारी नपाएको भन्दै घरमा रुवाबासीको अवस्था रहेको बताए। सामान्य आर्थिक अवस्था भएको दलित परिवारका सदस्य बेपत्ता भएपछि गाउँभरि नै चिन्ता र त्रास फैलिएको स्थानीयहरूको भनाइ छ।
पारिवारिक स्रोतका अनुसार वृजेशले जिराभवानी गाउँपालिकाका केही व्यक्तिबाट व्यक्तिगत प्रयोजनका लागि करिब ७ देखि ८ लाख रुपैयाँ ऋण लिएका थिए। उक्त रकम फिर्ता गर्ने विषयमा पटक–पटक छलफल हुँदै आएको नाना रामअशिष रामले बताए। यद्यपि उक्त आर्थिक कारोबार र बेपत्ता घटनाबीच सम्बन्ध रहेको वा नरहेको विषयमा प्रहरीले कुनै आधिकारिक पुष्टि गरेको छैन।
स्थानीय युवाहरूले घटनाको अनुसन्धान अपेक्षाअनुसार प्रभावकारी नभएको आरोप लगाउँदै दलित युवाको खोजी कार्यलाई तीव्र बनाउन माग गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष, गहिरो र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकसँग सम्पर्क गर्दा उनले घटना संवेदनशील रहेकाले फोनमार्फत विस्तृत जानकारी दिन नमिल्ने बताउँदै आवश्यक जानकारीका लागि कार्यालयमै आएर भेट्न आग्रह गरे। जिल्ला प्रहरीका कार्यालय पर्साका डिएसपी राजु कार्कीले प्रहरी नेपाल खोजी गरी रहेको एवं भारतीय प्रहरीसँग समन्वय गरी भारतमा समेत खोज तलास भइरहेको बताए । परिवारका सदस्यहरुलाई जानकारीका लागि जिल्ला बोलाउँदा आउँन नमानेको समेत उनले बताए ।




