काठमाडौं,२३ असार । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको सम्मानपूर्वक बिदाइ गरेको छ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आफ्नो कार्यकालमा आयोगको गरिमा, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आभार व्यक्त गरे। उनले भण्डारीलाई मृदुभाषी, अनुभवी कानुनविद् तथा चुनौतीपूर्ण परिस्थितिमा संस्थालाई सही मार्गदर्शन गर्ने नेतृत्वका रूपमा स्मरण गरे।
प्रवक्ता भट्टराईका अनुसार भण्डारीले राष्ट्रले सामना गरेका विभिन्न संवेदनशील अवस्थाहरूमा जिम्मेवार र दूरदर्शी नेतृत्व प्रस्तुत गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन्। आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित उनको अनुभवले आयोगको कार्यसम्पादनलाई थप प्रभावकारी बनाएको उनले बताए। आयोगमा रहँदा हासिल गरेको अनुभव र दक्षताले आगामी दिनमा पनि उनको सार्वजनिक जीवनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै भट्टराईले उनको सुखद्, स्वस्थ र सक्रिय भविष्यको शुभकामना दिए।
आफ्नो कार्यकालका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ साल भदौमा जेनजी आन्दोलनपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिमा फागुन २१ गते सम्पन्न निर्वाचनको सफल नेतृत्व गरेका थिए। निर्वाचन हुने–नहुने अन्योलका बीच उनले राजनीतिक दल तथा जेनजी पुस्ताबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्दै निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
आयोगका अनुसार भण्डारीको नेतृत्वले चुनौतीपूर्ण परिस्थितिमा पनि निर्वाचन प्रक्रियाप्रति जनविश्वास कायम राख्न तथा लोकतान्त्रिक प्रक्रियालाई निरन्तरता दिन उल्लेखनीय योगदान पुर्याएको छ।




