spot_img

मूल्यवृद्धि नियन्त्रणमा सरकार सक्रिय : उद्योगमन्त्री कुमारी

spot_img
spot_img

काठमाडौं,२३ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणका लागि सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताएकी छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले बजारको अवस्था नियमित रूपमा अनुगमन गर्दै मूल्य नियन्त्रणका लागि आवश्यक कदम चालिएको जानकारी दिइन्।

सांसद मदन कुमारी साहले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मूल्य विश्लेषण प्रतिवेदन २०८२/८३ को आधारमा खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले इन्धनको मूल्य बढ्दा ढुवानी र हवाई भाडासमेत महँगिएको तथा त्यसको भार विशेषगरी निम्न आय भएका नागरिकले व्यहोर्नुपरेको भन्दै सरकारको धारणा माग गरेकी थिइन्।

जवाफमा मन्त्री कुमारीले नेपाल राष्ट्र बैंक, नेपाल आयल निगम, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति लगायतका निकायबाट तथ्याङ्क संकलन गरी मासिक रूपमा बजारको अवस्था विश्लेषण गरिने जानकारी दिइन्।

उनका अनुसार २०८२/८३ को वैशाख महिनाको प्रतिवेदनले स्थानीय तरकारीको मूल्यमा केही उतारचढाव देखाएको भए पनि त्यसका मुख्य कारण पेट्रोलियम पदार्थको मूल्य, उत्पादनको अवस्था तथा बजारमा बिचौलियाको प्रभाव रहेको उल्लेख गरिएको छ। उनले हालै पेट्रोलियम पदार्थको मूल्य घटाइएकाले त्यसअनुसार सार्वजनिक यातायात तथा हवाई भाडासमेत समायोजन भइसकेको जानकारी गराइन्।

मन्त्री कुमारीले नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीमार्फत इन्धनको मूल्य समायोजन गर्दै आएको र मध्यपूर्वमा उत्पन्न चुनौतीपूर्ण परिस्थितिका बीच पनि इन्धन आपूर्तिलाई सहज बनाइएको बताइन्।

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत दैनिक बजार अनुगमन भइरहेको उल्लेख गर्दै मूल्यमा अनियमितता गर्ने आयातकर्ता, उत्पादक तथा विक्रेतामाथि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही र जरिवाना गर्ने कार्य निरन्तर जारी रहेको स्पष्ट पारिन्।

मन्त्री कुमारीका अनुसार बजारलाई व्यवस्थित र उपभोक्तालाई अनावश्यक मूल्यवृद्धिबाट जोगाउन विभागका अनुगमन टोलीहरूलाई थप सक्रिय बनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय