काठमाडौं,२३ असार । सरकारले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीस्वरूप मर्मत कार्यका लागि ३३ लाख रुपैयाँ निकासा गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले उक्त रकम स्वीकृत गरी निकासा गरेको हो। रकम प्राप्त भएसँगै उद्योगको मर्मत तथा पुनः सञ्चालनसम्बन्धी काम अघि बढाइएको सरकारले जनाएको छ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले हेटौंडा कपडा उद्योग सञ्चालनको तयारी, मोडालिटी र सरकारको योजनाबारे प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्रारम्भिक प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्।
मन्त्री कुमारीका अनुसार मर्मत कार्य सुरु भइसकेको छ र केही महिनाभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। उनले उद्योग पुनः सञ्चालन भएपछि स्वदेशी उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र औद्योगिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
सरकारले लामो समयदेखि बन्द रहेका सार्वजनिक उद्योगहरूलाई चरणबद्ध रूपमा पुनर्जीवित गर्ने नीति अन्तर्गत हेटौंडा कपडा उद्योगलाई पनि सञ्चालनमा ल्याउने तयारी अघि बढाएको जनाएको छ।




