बीरगन्ज,२३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित चार जनाविरुद्ध २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरेको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटबाट बालुवा, गिट्टी र ग्राभेल उत्खनन तथा बिक्रीसम्बन्धी ठेक्कामा सरकारी राजस्व हिनामिना भएको आरोपमा मंगलबार आरोपपत्र दायर गरिएको हो।
अनुसन्धानबाट गढीमाई नगरपालिकाले उक्त ठेक्का ३ करोड २५ लाख रुपैयाँ मा भाग्यामणी कन्स्ट्रक्सन प्रालिलाई दिने निर्णय गरेको देखिएको छ। सम्झौताअनुसार कम्पनीले तोकिएको समयभित्र रकम जम्मा गर्नुपर्ने भए पनि त्यसो नगरेको अख्तियारको दाबी छ।
तर, नगरपालिकाका जिम्मेवार पदाधिकारीहरूले कम्पनीले एक करोड रुपैयाँ दाखिला गरिसकेको भनी झुटो विवरण तयार गरी स्वीकृत गराएपछि ठेक्काको सर्तविपरीत एक महिनाका लागि नदीजन्य पदार्थ उत्खननको अस्थायी अनुमति दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
त्यस अवधिमा कम्पनीले ५४ हजार ३ सय ५५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरी ३ करोड ३२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोप छ।
अख्तियारका अनुसार ठेक्का सम्झौताअनुसार बुझाउनुपर्ने बाँकी रकम र मूल्य अभिवृद्धि कर (भ्याट) सहित २ करोड ५७ लाख ६२ हजार रुपैयाँ सरकारी राजस्व नबुझाइ राज्यलाई नोक्सानी पुर्याइएको छ।
यस प्रकरणमा मेयर श्यामप्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर र तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर रायलाई मुख्य प्रतिवादी बनाइएको छ। उनीहरूसँग जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गर्दै कैद सजाय र बिगोको दोब्बर जरिवानाको माग गरिएको छ।
यस्तै, भाग्यामणी कन्स्ट्रक्सन प्रालिका तर्फबाट कार्य गर्ने राधेश्याम साहलाई पनि भ्रष्टाचारमा मतियार बनेको आरोपमा प्रतिवादी बनाउँदै सोही बराबरको बिगो तथा सजायको माग गरिएको अख्तियारले जनाएको छ।




