काठमाडौं,२३ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले देशभर हालसम्म ५ लाख १२ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको जानकारी दिएकी छन्।
मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भएको र विगतको मौज्दातसमेत जोडेर ५ लाख १२ हजार मेट्रिक टन मल किसानलाई वितरण गरिएको बताइन्।
उनका अनुसार हाल ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको छ भने सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल आपूर्ति हुने क्रममा छ। धान रोपाइँको समयमा आवश्यक पर्ने मल सहज रूपमा उपलब्ध गराउन सरकार तयारी अवस्थामा रहेको उनको दाबी छ।
मन्त्री चौधरीले मल खरिद तथा आपूर्तिका लागि बजेट अभाव हुन नदिने भन्दै आवश्यक परे अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको जानकारी दिइन्।
उनले देशका १५६ वटा स्थानीय तहमा साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि करिब १६ करोड रुपैयाँ बजेट छुट्याइएको तथा संघीय निकायमार्फत सिँचाइ विस्तारका लागि ४ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको पनि बताइन्।
ठूला सिँचाइ आयोजनाहरू सञ्चालनमा आएपछि मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको मन्त्री चौधरीले उल्लेख गरिन्। साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिइन्।




