spot_img

निजी विद्यालयको विकल्प बन्दै गौशालाका सामुदायिक विद्यालय

spot_img
spot_img

महोत्तरी,२३ असार । महोत्तरीको गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पाँच विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थी र अभिभावकको आकर्षण सार्वजनिक विद्यालयतर्फ बढ्न थालेको छ।

नगरपालिकाभित्र रहेका ३२ सामुदायिक विद्यालयमध्ये पहिलो चरणमा पाँच विद्यालयमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिएको हो। यससँगै निजी विद्यालयको विकल्पका रूपमा सामुदायिक विद्यालय रोज्ने अभिभावकको संख्या बढ्न थालेको स्थानीयको भनाइ छ।

हाल त्रिभुवन माध्यमिक विद्यालय गौशाला र जनता माध्यमिक विद्यालय भरतपुरखोरमा नर्सरीदेखि कक्षा १० सम्म, श्री माध्यमिक विद्यालय निगौलमा कक्षा ४ सम्म तथा जनता माध्यमिक विद्यालय रजखोर र श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको छ।

पूर्वशिक्षक भरतसिंहका अनुसार सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि अभिभावकको निजी विद्यालयमा हुने ठूलो शैक्षिक खर्चसमेत घटेको छ।

जनता माध्यमिक विद्यालय रजखोरका प्रधानाध्यापक अमोदकुमार साहले अभिभावकको मागलाई ध्यानमा राख्दै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको बताए। उनले नगरपालिकाले सबै सामुदायिक विद्यालयमा समान शैक्षिक व्यवस्था लागू गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

नगर शिक्षा समितिका सदस्य जीतेन्द्रकुमार सिंहका अनुसार नगरपालिकाको निर्देशनअनुसार सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको हो।

नगर शिक्षा अधिकृत सञ्जयकुमार सिंहले अङ्ग्रेजी माध्यमको शिक्षालाई दीर्घकालीन अभियानका रूपमा अघि बढाइने जानकारी दिँदै शिक्षक व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति, आवश्यक पूर्वाधार तथा शैक्षिक सामग्रीको व्यवस्था गर्दै कार्यक्रम विस्तार गरिने बताए।

गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ अङ्ग्रेजी माध्यमको पठनपाठन सुरु गरिएको उल्लेख गर्दै तालिमप्राप्त शिक्षक, पाठ्यपुस्तक तथा आवश्यक शैक्षिक पूर्वाधार व्यवस्थापनमा नगरपालिकाले प्राथमिकता दिएको बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय