काठमाडौं,२३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै मुलुकको समष्टिगत आर्थिक अवस्था क्रमशः सुधारतर्फ उन्मुख रहेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत मा सीमित रहेको छ, जसले महँगी नियन्त्रणमा रहेको संकेत गर्छ।
प्रतिवेदनले नेपालको बाह्य क्षेत्र पनि सुदृढ अवस्थामा रहेको उल्लेख गरेको छ। हालको विदेशी विनिमय सञ्चितिले १९.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको राष्ट्र बैंकको भनाइ छ। रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर वृद्धि र आयातमा आएको कमीका कारण विदेशी मुद्रा सञ्चिति थप मजबुत बनेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको छ। यसकै प्रभावस्वरूप अन्तरबैंक ब्याजदर र कर्जाको औसत ब्याजदर पनि ऐतिहासिक रूपमा न्यून स्तरमा झरेको छ।
तर, पर्याप्त तरलता र कम ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसकेको प्रतिवेदनले देखाएको छ। कर्जाको माग सुस्त रहँदा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिने क्रम जारी रहेको राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत मूल्य स्थिरता कायम राख्दै बाह्य क्षेत्रको सन्तुलन संरक्षण गर्ने र सुस्त बनेको आन्तरिक आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य राखिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आगामी दिनमा आन्तरिक उत्पादन वृद्धि, साना तथा मझौला उद्योगमा लगानी विस्तार, रोजगारी सिर्जना तथा घरजग्गा र पुँजीबजारजस्ता सुस्त क्षेत्रलाई पुनः सक्रिय बनाउने दिशामा मौद्रिक व्यवस्थापनलाई निरन्तरता दिने उल्लेख गरेको छ। साथै, आर्थिक अवस्थाअनुसार कसिलो र खुकुलो मौद्रिक नीतिबीच सन्तुलन कायम राख्दै नीति कार्यान्वयन गरिने पनि प्रतिवेदनमा जनाइएको छ।




