काठमाडौं,२३ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कुनै पनि पार्टीसँग एकता हुने सम्भावना नरहेको स्पष्ट गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वामपन्थी शक्तिहरूबीच पार्टी एकताको चर्चा भइरहे पनि अहिलेको अवस्थामा त्यस्तो सम्भावना नरहेको बताए। उनले एमालेमा समाहित हुन चाहने नेता–कार्यकर्तालाई भने स्वागत गरिने स्पष्ट पारे।
“पार्टी एकता हुँदैन। तर, मिल्न खोज्ने र एमालेमा आउन चाहनेलाई स्वागत छ,” ओलीले भने। भाषणका क्रममा उनले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति पनि टिप्पणी गर्दै प्रचण्ड प्रधानमन्त्री बालेन शाहको प्रशंसामा लागेर राजनीतिक रूपमा उम्किन खोजिरहेको आरोप लगाए।
यसैबीच, एमालेले आगामी निर्वाचनको समीक्षा, पार्टी पुनर्गठन र संगठन सुदृढीकरणका विषयमा सुझाव संकलन अभियान जारी राखेको छ। सोही क्रममा मंगलबार पार्टीको सल्लाहकार परिषद्का सदस्यहरूसँग सुझाव लिने कार्यक्रम आयोजना गरिएको थियो।
यसअघि एमालेले प्रदेश तथा मातहतका विभिन्न कमिटीबाट पनि सुझाव संकलन गरिसकेको छ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले सुझाव संकलनको जिम्मेवारी सम्हालिरहेको छ।
कार्यदलले मंगलबार सुझाव संकलनको चरण पूरा गरेको छ भने २५ असारमा प्रतिवेदन तयार पार्न बैठक बस्ने कार्यतालिका तय गरिएको एमालेले जनाएको छ।




