काठमाडौं,२३ असार । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा विभिन्न क्षेत्रका आठ जनालाई सदस्यका रूपमा मनोनीत गरेको छ।
मंगलबार उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षण गतिविधिलाई थप प्रभावकारी र समावेशी बनाउने उद्देश्यले नयाँ सदस्यहरू मनोनयन गरेका हुन्।
नवनियुक्त सदस्यहरूमा केन्द्रीय सदस्य प्रकाश पन्थ, ह्योल्मो समुदायका विषयमा अध्ययन गरेका डा. प्रेमध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्वकार्यकारी अध्यक्ष रेशम गुरुङ, कृषि अभियन्ता सीताराम काफ्ले, एलजीबीटीक्यूआईए समुदायका प्रतिनिधि प्रतीक्षा चापागाईं, सञ्चारकर्मी मोहन गजुरेल र अनुपा श्रेष्ठ रहेका छन्।
कांग्रेसका अनुसार नीति निर्माण, अनुसन्धान तथा प्रशिक्षणलाई थप सुदृढ र समावेशी बनाउने लक्ष्यका साथ विभिन्न क्षेत्रका विज्ञ, पेशाकर्मी तथा समुदायका प्रतिनिधिलाई प्रतिष्ठानमा समेटिएको हो।




