काठमाडौं,२३ असार । ललितपुरमा सार्वजनिक स्थानमा एक युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृत सुरेन्द्र भट्टलाई थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति दिइएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शनसम्बन्धी कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको हो।
रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय शिक्षा अधिकृत भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। उनीमाथि ललितपुरको इमाडोल क्षेत्रमा पैदल हिँडिरहेकी एक युवतीसँग अश्लील व्यवहार गरेको आरोप छ।
घटनापछि पीडित युवतीले आरोपितलाई पछ्याउँदै भिडियो खिचेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि घटनाले व्यापक ध्यान तानेको थियो। भिडियो सार्वजनिक भएसँगै प्रहरीले आरोपितको खोजी तीव्र पारेर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




