वीरगन्ज,२३ असार । बाराको सुवर्ण गाउँपालिकामा रूखको हाँगा काट्ने क्रममा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुवर्ण गाउँपालिका–२ सनफुलवास्थित शिवधारी पण्डितको जग्गामा रहेको पकडको रूख काट्ने क्रममा सुवर्ण गाउँपालिका–१ रामटोलका ५५ वर्षीय जोखन महराको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार उक्त रूख सुवर्ण गाउँपालिका–७ का बाबुलाल यादवले खरिद गरेका थिए। रूखको हाँगा काटिरहेका बेला अर्को ठूलो हाँगा खसेर महरामाथि बजारिँदा उनी गम्भीर रूपमा च्यापिएका थिए। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी बिहान करिब ९ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा सोको (SOCO) टोली परिचालन गरी घटनास्थलको मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




