spot_img

समर्थन मूल्य लागू नहुँदा पर्साका किसानले सस्तोमा धान बेच्न बाध्य

spot_img
spot_img

बीरगन्ज,२४ असार । सरकारले चैते धानको समर्थन मूल्य निर्धारण गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा पर्साका किसानले बजारमा निकै कम मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्। सरकारी खरिद व्यवस्था प्रभावकारी नहुँदा बिचौलियाले फाइदा उठाइरहेको किसानहरूको आरोप छ।

सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपैयाँ ४९ पैसा तोकेको भए पनि पर्सामा किसानले प्रतिक्विन्टल एक हजार ९०० देखि दुई हजार रुपैयाँसम्ममै धान बिक्री गर्न बाध्य भएका छन्। समर्थन मूल्य र बजार मूल्यबीच ठूलो अन्तर हुँदा किसान प्रत्यक्ष आर्थिक घाटामा परेका छन्।

पर्सागढी नगरपालिका–३ का किसान आशिष अधिकारीले समर्थन मूल्य व्यवहारमा लागू नभएकाले बिचौलियाले मनोमानी मूल्यमा धान खरिद गरिरहेको बताए। उत्पादन लागतसमेत नउठ्ने मूल्यमा धान बिक्री गर्नुपरेको भन्दै उनले सरकारले समर्थन मूल्यअनुसार खरिदको सुनिश्चितता गर्नुपर्ने माग गरे।

किसानहरूको भनाइमा सरकारले समर्थन मूल्य घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन र बजार अनुगमन नहुँदा नीति कागजमै सीमित भएको छ। यसका कारण किसानले उचित मूल्य पाउन नसकी बाध्यात्मक रूपमा कम मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ।

किसानहरूले समर्थन मूल्यअनुसार सरकारी खरिद व्यवस्था तत्काल सञ्चालन गर्न, बजार अनुगमन कडा बनाउन तथा किसानमैत्री कृषि नीति प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले समयमै आवश्यक कदम नचालिए धानखेतीप्रति किसानको आकर्षण घट्ने र यसले कृषि उत्पादनमा समेत नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय