spot_img

रौतहटमा जग्गा विवादले लियो ज्यान, चक्कु प्रहारबाट एकको मृत्यु

spot_img
spot_img

रौतहट,२४ असार । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्वलाई लिएर भएको विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन्। उनी लामो समयदेखि औरैयास्थित आफ्ना ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका थिए। घटनाका क्रममा रामबहादुर साहको टाउकोमा पनि चोट लागेको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चक्कु प्रहारबाट पिठ्युमा गम्भीर घाइते भएका वुटन साहलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा मंगलबार राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामाऔतार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार दुवैजनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि चल्दै आएको विवादले उग्र रूप लिएपछि घटना भएको हो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय