भैरहवा,२४ असार । सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकेको छैन। अत्याधुनिक पूर्वाधार, सरकारी सहुलियत र ठूलो लगानी भए पनि यात्रु व्यवस्थापन, नीतिगत कमजोरी र कमजोर बजार समन्वयका कारण विमानस्थल अपेक्षाअनुसार सञ्चालन हुन नसकेको सरोकारवालाहरूको भनाइ छ।
विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पछिल्लो पटक थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक रुटमा नियमित उडान सञ्चालन गरे पनि यात्रु अभावका कारण सेवा मार्चपछि स्थगित भएको थियो। हाल नियमित अन्तर्राष्ट्रिय उडान नभए पनि चार्टर उडान भने जारी छन्।
उनका अनुसार समस्या पूर्वाधारको नभई यात्रु व्यवस्थापन र बजार संरचनाको हो। म्यानपावर कम्पनी, ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्ट (जीएसए) बीच प्रभावकारी समन्वय नहुँदा विमान कम्पनीहरूले पर्याप्त यात्रु पाउन नसकेको उनले बताए।
साहले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको भए विदेशी एयरलाइन्सलाई पनि सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे। साथै भारतसँगको हवाई सेवा सम्झौता परिमार्जन गरी दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोरलगायत सहरबाट सिधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
सरकारले ल्यान्डिङ, नेभिगेसन र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट तथा हवाई इन्धनमा सहुलियत दिँदै आए पनि त्यसले मात्र नियमित उडान आकर्षित गर्न नसकेको उनको भनाइ छ।
निजी क्षेत्रले पनि विमानस्थल सञ्चालनमा ढिलाइ हुनुको मुख्य कारण सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार र भारतसँग आवश्यक कूटनीतिक पहलको अभाव रहेको जनाएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय उडानको स्पष्ट नीति बनाएर भैरहवालाई क्षेत्रीय हबका रूपमा विकास गर्नुपर्ने बताए।
व्यवसायीहरूले भैरहवामै श्रम स्वीकृति, मेडिकल परीक्षण, भिसा सेवा तथा स्थानीय जीएसए व्यवस्था विस्तार गर्न सके पश्चिम नेपालका वैदेशिक रोजगारीमा जाने हजारौं श्रमिकलाई सहज हुने र अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्या पनि बढ्ने विश्वास व्यक्त गरेका छन्।
करिब ३५ अर्ब रुपैयाँको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन गरिएको थियो। तीन किलोमिटर लामो धावनमार्ग, आधुनिक टर्मिनल भवन र अन्तर्राष्ट्रियस्तरका पूर्वाधार भए पनि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा अझै कायम रहेको छ।




