spot_img

कालिकामाई गापामा कर्मचारीद्वारा पेनडाउन,कर्मचारीमाथी आक्रमण गर्नेहरुलाई कारवाहीकाे माग

spot_img
spot_img
वीरगञ्ज,२४ असार – पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालय परिसरभित्रै भएको कुटपिटको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएका छन्। दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै उनीहरूले पेनडाउन आन्दोलन सुरु गरेका हुन्।

मंगलबार दिउँसो करिब १२:५१ बजे गाउँ कार्यपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

कर्मचारीहरूको भनाइअनुसार कार्यालय समयमै आफ्नो नियमित जिम्मेवारी पूरा गरिरहेका कर्मचारीमाथि गरिएको आक्रमण सम्पूर्ण कर्मचारीमाथिको आक्रमण सरह हो। यस्तो घटनाले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै सार्वजनिक सेवा प्रवाह, प्रशासनिक कार्यसम्पादन र सुशासनमा नकारात्मक प्रभाव पार्ने उनीहरूको धारणा छ।

गाउँपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको पृष्ठभूमि स्वास्थ्य शाखामार्फत सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित रहेको उल्लेख गर्दै उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको कुनै व्यक्तिगत संलग्नता वा कमजोरी नरहेको अवस्थामा उनीमाथि भएको आक्रमण दुःखद र निन्दनीय रहेको जनाएका छन्।

विज्ञप्तिमार्फत कर्मचारीहरूले कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नम्बर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित घटनामा संलग्न अन्य व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्। साथै सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्न र दोषीलाई संघीय कानुनअनुसार कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।

माग पूरा नभएसम्म गाउँपालिकाका सबै कर्मचारीले नियमित कामकाज नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तथा पेनडाउन आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।

कर्मचारीहरूको आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा प्रभावित भएको छ। गाउँपालिका मातहत सञ्चालनमा रहेका सबै विद्यालयसमेत बन्द भएका छन्।

उता, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने फरार रहेका अन्य आरोपितको खोजीलाई समेत तीव्र बनाइएको छ

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय