बीरगन्ज,२४ असार । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट ब्राउन सुगर र गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ घर भई हाल रामगढवामा डेरा गरी बस्दै आएका २१ वर्षीय राहुल बैठा र सुनसरीको इटहरीका २२ वर्षीय साइमन क्षेत्री रहेका छन्।
अस्थायी प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बैठाको डेरा कोठामा छापा मार्ने क्रममा ३ ग्राम ७२ मिलिग्राम ब्राउन सुगर र एक पुरिया गाँजा बरामद गरेको थियो।
सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई हिरासतमा राखी प्रचलित कानुनबमोजिम थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




