spot_img

रक्सौल नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक एसएसबीको नियन्त्रणमा

spot_img
spot_img

वीरगन्ज,२४ असार । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रक्सौलस्थित इन्डो–नेपाल मैत्री पुलबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने प्रयास गरेका एक बंगलादेशी नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ।

एसएसबीले मंगलबार राति नियमित गस्ती र कागजात जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो। जाँचका क्रममा उनीसँग बंगलादेशको वैध राहदानी (पासपोर्ट) फेला परेपछि उनी बंगलादेशी नागरिक रहेको पुष्टि भएको भारतीय सुरक्षा स्रोतले जनाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्ने व्यक्ति २७ वर्षीय एमडी शियाम हुसेन हुन्। उनी बंगलादेशको मुन्सीगञ्ज जिल्लाका बासिन्दा हुन्। उनीसँग रहेको पासपोर्ट सन् २०२० डिसेम्बर ८ मा जारी भएको र सन् २०३० डिसेम्बर ७ सम्म वैध रहेको बताइएको छ।
प्रारम्भिक सोधपुछमा उनले आफ्नो वास्तविक परिचय लुकाउन हिन्दु नाम प्रयोग गरेको खुलेको एसएसबीले जनाएको छ। साथै, भारतमा प्रवेशका लागि आवश्यक भिसा वा अन्य वैध कागजात उनीसँग नरहेको पनि सुरक्षा अधिकारीहरूले बताएका छन्।

सुरक्षा निकायका अनुसार उनी यसअघि पनि भारत–नेपाल सीमा क्षेत्रमा आवतजावत गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। हाल उनको मोबाइल फोन, यात्रा विवरण, नेपालमा सम्भावित बसाइ, भारतमा रहेका सम्पर्क र नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान भइरहेको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि एसएसबीले उनलाई हरैया थाना प्रहरीको जिम्मा लगाएको छ। प्रहरीले उनी भारतमा वैध अनुमति बिना कसरी बसिरहेका थिए, नेपाल प्रवेशको उद्देश्य के थियो तथा यस घटनामा कुनै संगठित नेटवर्कको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

हरैया थाना प्रमुख किशन कुमारका अनुसार पक्राउ परेका व्यक्तिमाथि गहन सोधपुछ जारी छ। पछिल्ला दिनहरूमा भारत–नेपाल सीमाबाट हुने अवैध प्रवेशका घटनामा वृद्धि हुन थालेपछि एसएसबीले सीमा क्षेत्रमा निगरानी, गस्ती तथा कागजात जाँचलाई थप कडा बनाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय