काठमाडौँ,२४ असार । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै लगानीमैत्री वातावरण निर्माण, उद्योग प्रवर्द्धन तथा आर्थिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारे।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग–व्यवसाय सञ्चालनलाई सहज बनाउने, लगानी विस्तार गर्ने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले आर्थिक विकास, उत्पादन वृद्धि, लगानी विस्तार तथा रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको प्रमुख साझेदार रहेको उल्लेख गर्दै उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई तीव्र रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
उनले निजी क्षेत्रबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका कदम चालिने बताए। साथै, आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।
छलफलमा सहभागी उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने व्यवस्था तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकता औँल्याएका थिए।
प्रधानमन्त्रीको उपस्थितिमा भएको उक्त छलफलले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानीको वातावरण सुधार, सरकार–निजी क्षेत्रबीचको सहकार्य विस्तार तथा निजी क्षेत्रमैत्री नीति निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।




