बीरगन्ज,२४ असार । सखुवा प्रसौनी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले सेवा प्रवाह, विकास निर्माण तथा आधारभूत सुविधासम्बन्धी विभिन्न गुनासा र सुझाव राखेका छन्। कार्यक्रममा गाउँपालिका नेतृत्वले प्राप्त सुझावलाई कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
सहज सेवा सीप विकास केन्द्र पर्सा र नारायणी खबरको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्दै सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको उत्तरदायित्व तथा पारदर्शिता सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रशासन, स्वास्थ्य, सामाजिक विकास, शिक्षा, कृषि, पूर्वाधार, लेखा तथा सूचना प्रविधि शाखाका प्रमुखहरूले आ–आफ्नो शाखाले गरेको प्रगति, चालु कार्यक्रम र आगामी योजनाबारे जानकारी गराएका थिए। साथै वडा अध्यक्षहरू बासुदेव महतो, मोजामिल अन्सारी, मोहम्मद आरफी अन्सारी, अशेश्वर प्रसाद यादव र मुना प्रसाद कम्करले पनि आफ्नो धारणा राखेका थिए।
सार्वजनिक सुनुवाइमा कर्मचारी, शिक्षक, प्रधानाध्यापक, प्रहरी, पत्रकार, महिला समूह, स्वास्थ्यकर्मी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, किसान, व्यवसायी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।
छलफलका क्रममा स्थानीयवासीले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकाससँग सम्बन्धित समस्या खुलस्त रूपमा राखेका थिए। रामचन्द्र साहले खानेपानी धारा विस्तारको माग गरे भने ललिता देवीले प्रसौनी टोलमा सडक र नाला निर्माणको आवश्यकता औँल्याइन्। पत्रकार रामकिशोर चौधरीले स्थानीय सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न आग्रह गरे।
यस्तै बिन्दा देवीले औराहामा खानेपानी धारा र सार्वजनिक शौचालय निर्माणको आवश्यकता रहेको बताइन्। शिक्षक अजय यादवले सामुदायिक विद्यालयमा कम्प्युटर र पंखा जडान गर्न तथा नियमित अनुगमन प्रणाली प्रभावकारी बनाउन माग गरे।
पूर्वाधार निर्माणको काममा ढिलाइ भएको भन्दै मनोज चौधरीले असन्तुष्टि व्यक्त गरे भने राहुल शाहले स्वास्थ्य शाखाका कर्मचारी कार्यालयभन्दा तालिम र गोष्ठीमा बढी व्यस्त रहने गरेको आरोप लगाए। किसानको समस्यातर्फ ध्यानाकर्षण गराउँदै बबिता चौधरीले समयमै मलखाद र बीउबिजन उपलब्ध गराउन माग गरिन्। देवनारायण राउतले केही वडा अध्यक्षले ठेकेदारसँग मिलेर योजना बिक्री गर्ने गरेको आरोपसमेत लगाए।
उठेका गुनासा, प्रश्न र सुझावमाथि प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष जसवन्त यादवले नागरिकका सुझावलाई सुधारको आधारका रूपमा लिइने बताए। प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले पनि सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
वडा नं. २ का वडा अध्यक्ष चिरञ्जीवी महतो थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार मनोज पटेलले गरेका थिए।




