spot_img

आज संघीय संसदका चार समिति बैठकमा, निर्वाचन आयोग नियुक्तिदेखि मानवअधिकार र कृषि अनुगमनसम्मका विषयमा छलफल

spot_img
spot_img

काठमाडौं — संघीय संसदअन्तर्गत रहेका चारवटा संसदीय समितिको बैठक आज बस्दैछ। आज संसदीय सुनुवाइ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति तथा महिला तथा सामाजिक मामिला समितिको बैठक सिंहदरबारमा तय गरिएको छ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ९ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ। बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूमाथि संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने कार्यसूची रहेको छ।

संवैधानिक परिषद्को गत शुक्रबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा काठमाडौंका डा. राजीव सुब्बा र ओखलढुंगाका गुरु वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि निर्वाचन आयोग प्रमुख आयुक्तविहीन रहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा सम्पन्न भएको थियो। उक्त जिम्मेवारी रामप्रसाद भण्डारीले सम्हाल्नुभएको थियो।

यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका अनुसन्धान केन्द्र र कार्यक्रमहरूको संसदीय अनुगमन टोलीले गरेको स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने कार्यसूची रहेको छ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ पेश गरी छलफल गरिनेछ। साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीहरूको मानवअधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ।

उता, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा समितिको कार्यविधिसम्बन्धी विषयमा छलफल गर्ने तयारी गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय