काठमाडौं – अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गरेको जनाएको छ। आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा जवाफ’ दिने चेतावनी दिएका थिए।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजो स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूमाथि भएको बम आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाही गरिएको बताएका छन्। उनले यस्ता घटना पुनः दोहोरिए अझ कडा प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन्।
इरानी सञ्चारमाध्यमहरूका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न स्थानमा शक्तिशाली विस्फोटका आवाज सुनिएका छन्। फारसी खाडीमा इरानको नियन्त्रणमा रहेका केही टापुहरू पनि अमेरिकी आक्रमणको निशानामा परेको बताइएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार होर्मुज जलडमरूमध्य हुँदै गुज्रिरहेका तीनवटा व्यावसायिक जहाजलाई इरानले निशाना बनाएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकी सेनाले सैन्य कारबाही गरेको हो।
यता, इरानले अमेरिकी आक्रमणको प्रतिकारस्वरूप बुधबार बिहान बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, उक्त दाबीबारे अमेरिकाले तत्काल कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।
यसअघि राष्ट्रपति ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले, “हामी अभद्रताको जवाफ अभद्रताले होइन, कार्यबाट दिन्छौं—निर्भीक भएर र पूर्ण साहसका साथ,” बताएका थिए।
चाबहार, कोनारक र बन्दर अब्बासमा पनि विस्फोट
इरानी सञ्चारमाध्यमहरूका अनुसार चाबहार, कोनारकलगायत दक्षिणी तटीय क्षेत्रमा लगातार विस्फोट भएका छन्। इरानको सरकारी टेलिभिजनले बन्दर अब्बासमा आठवटा विस्फोट भएको जनाएको छ भने सिरिक र जास्क बन्दरगाहमा दुई–दुईवटा क्षेप्यास्त्र प्रहार भएको दाबी गरेको छ।
विवादित अबु मुसा टापुमा पनि दुई वटा प्रक्षेप्य खसेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त टापुको स्वामित्वलाई लिएर इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच लामो समयदेखि विवाद रहँदै आएको छ।
आक्रमणपछि बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) सक्रिय पारिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। अमेरिकी आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन।
प्रारम्भिक विवरणअनुसार चाबहारमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो भने बुशेहरस्थित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक ब्यारेकमा आगलागी भएको बताइएको छ।
इरानी स्टुडेन्ट्स न्युज एजेन्सी (ISNA) का अनुसार चाबहारमा अवरुद्ध भएका तीनमध्ये दुई वटा विद्युत् लाइन पुनः सञ्चालनमा आइसकेका छन् भने तेस्रो लाइन पनि चाँडै सञ्चालनमा ल्याइने तयारी भइरहेको छ।
यस घटनापछि मध्यपूर्वमा तनाव थप चुलिएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन र थप सैन्य तनाव रोक्न आग्रह गरिरहेको छ।




