बीरगन्ज,२५ असार । पर्याप्त वर्षा नहुँदा देशको प्रमुख धान उत्पादन क्षेत्र मानिने मधेस प्रदेशमा यस वर्ष धान रोपाइँ अपेक्षाकृत सुस्त बनेको छ। असारको तेस्रो सातासम्म प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये १४.७३ प्रतिशत जमिनमा मात्रै रोपाइँ सम्पन्न भएको सरकारी तथ्यांकले देखाएको छ।
कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार प्रदेशका आठ जिल्लामा रहेको ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ५९ हजार ८९५ हेक्टर क्षेत्रमा मात्रै धान रोपिएको छ। मनसुन ढिलो सक्रिय हुनु र नियमित वर्षा नहुनु रोपाइँ सुस्त हुनुको मुख्य कारण रहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी सिरहामा २५ प्रतिशत र सप्तरीमा २४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। धनुषामा १५ प्रतिशत, बारामा १३ प्रतिशत, पर्सामा १२ प्रतिशत र महोत्तरीमा १२.३७ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ। पश्चिमी मधेसका रौतहटमा ८.५ प्रतिशत र सर्लाहीमा सबैभन्दा कम ८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
किसानहरूले समयमै खेत तयारी गरे पनि पर्याप्त पानी नपर्दा रोपाइँ गर्न नसकेको गुनासो गरेका छन्। सिँचाइ सुविधा सीमित भएकाले अधिकांश किसान अझै पनि आकाशे पानीकै भर पर्न बाध्य छन्।
मधेस प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५ हेक्टर खेतीयोग्य जमिन रहेकामा ठूलो हिस्सा धान खेतीले ओगट्ने गर्दछ। कृषि विज्ञहरूले समयमै रोपाइँ हुन नसके उत्पादनमा उल्लेख्य गिरावट आउन सक्ने र त्यसको असर प्रदेशसँगै राष्ट्रिय कृषि अर्थतन्त्रमा पनि पर्ने चेतावनी दिएका छन्।
निर्देशनालयले आगामी दिनमा मनसुन पूर्ण रूपमा सक्रिय भएर नियमित वर्षा भए रोपाइँले गति लिने अपेक्षा गरेको छ। साथै, विज्ञहरूले उपलब्ध सिँचाइ स्रोतको अधिकतम उपयोग गर्दै किसानलाई प्राविधिक तथा आकस्मिक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।




