सिरहा, २५ असार । सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वामा स्कुल बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङ स्कुलको बसले सोही दिशामा गुडिरहेको म.प्र.०१–००५ प ३४०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार चोहर्वा चोक नजिक पुगेपछि बसले एक्कासि उत्तरतर्फ गोविन्दपुर सडकखण्डतर्फ मोड्न खोज्दा पछाडिबाट आइरहेको मोटरसाइकल बसको बीच भागमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक करिब २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको साथबाट कुनै परिचय खुल्ने कागजात फेला नपरेकाले उनको पहिचान अझै खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–५ का २४ वर्षीय शङ्ख रिहान र १९ वर्षीय यनतियाज राइन गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय भूमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गोलबजारले स्कुल बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। दुर्घटना तीव्र गति तथा लापरबाहीका कारण भएको हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




