काठमाडौं,२५ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा बदली रहने र विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।




