काठमाडौं,२५ असार । एलपी ग्यासको आपूर्ति क्रमशः सहज बन्दै गए पनि उपभोक्ताले अझै पनि आधा सिलिन्डर मात्र पाउने अवस्था अन्त्य भएको छैन। सरकार र नेपाल आयल निगमले पूर्ण सिलिन्डर वितरण कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट समयसीमा सार्वजनिक गर्न सकेका छैनन्।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पूर्ण सिलिन्डर वितरणका विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ। तर हाल नै मिति तोकेर भन्न सकिने अवस्था नरहेको उनले बताए।
उनका अनुसार इजराइल–इरान तथा अमेरिका–इरान तनावका कारण उत्पन्न ग्यास अभाव व्यवस्थापन गर्न सरकारले अस्थायी रूपमा आधा सिलिन्डर वितरणको व्यवस्था लागू गरेको थियो। युद्धको अवस्था सामान्य बने पनि भारतबाट नेपाल आउने एलपी ग्यासको आपूर्ति अझै पुरानै स्तरमा नपुगेकाले उक्त व्यवस्था हटाउन नसकिएको निगमको भनाइ छ।
प्रवक्ता ठाकुरका अनुसार पूर्ण सिलिन्डर वितरण सुरु गर्न दैनिक कम्तीमा १०० बुलेट ग्यास नेपाल भित्रिन आवश्यक पर्छ। तर हाल दैनिक ७० देखि ९५ बुलेट ग्यास मात्र नेपाल आइरहेको छ। पश्चिम एसियामा देखिएको तनावका बेला भारतले नेपाल र भुटानतर्फको ग्यास आपूर्तिमा गरेको कटौती अझै पूर्ण रूपमा हटाएको छैन।
ग्यासको सीमित आपूर्तिलाई सबै उपभोक्तामाझ बाँडफाँट गर्न निगमले आधा सिलिन्डर वितरण नीति अपनाएको थियो। प्रारम्भिक चरणमा यो व्यवस्था प्रभावकारी भए पनि अहिले आपूर्ति सुधार हुँदै जाँदा पनि नीति परिवर्तन नभएको भन्दै उपभोक्ता, ग्यास उद्योगी र वितरकले असन्तुष्टि जनाएका छन्।
उनीहरूको भनाइमा हालको व्यवस्थाले उपभोक्तालाई पटक–पटक ग्यास भर्नुपर्ने झन्झट, अतिरिक्त ढुवानी खर्च तथा वितरण प्रक्रियामा अनावश्यक असुविधा थपिएको छ। त्यसैले आपूर्ति सामान्य अवस्थामा फर्किएको सुनिश्चित गरी पूर्ण सिलिन्डर वितरण तत्काल पुनः सुरु गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।




