काठमाडौं,२५ असार । राष्ट्रिय किताबखाना (प्रहरी) ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला र अवकाशप्राप्त कर्मचारीलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
किताबखानाले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् भदौ २९ गतेभित्र तोकिएको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (प्रहरी) मा सम्पत्ति विवरण पेश गर्न आग्रह गरेको हो।
निर्देशनमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) तथा सम्बन्धित सेवा समूह सञ्चालनसम्बन्धी नियमावलीअनुसार सम्पत्ति विवरण फाराम भरेर बुझाउनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय किताबखानाले तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिने चेतावनी दिएको छ।




