बीरगन्ज,२५ असार । वीरगन्ज महानगरपालिकाले अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि लोककल्याणकारी सूचना उपलब्ध गराउने निर्णय गरेको छ।
आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले यसअघिको व्यवस्था संशोधन गर्दै साप्ताहिक पत्रपत्रिकालाई सूचीकरण प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो।
यसअघि महानगरले दैनिक पत्रपत्रिकालाई मात्र सूचीकरण गर्ने व्यवस्था गरेको थियो, जसका कारण स्थानीय साप्ताहिक सञ्चारमाध्यम लोककल्याणकारी सूचना प्रकाशनबाट वञ्चित हुँदै आएका थिए। नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न सरोकारवालाले उक्त व्यवस्था महानगरकै आमसञ्चारसम्बन्धी ऐन र प्रचलित कानुनविपरीत रहेको भन्दै संशोधनको माग गर्दै आएका थिए।
समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले पुरानो निर्णय परिमार्जन गर्दै स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणमा समेट्ने निर्णय गरेको हो।
वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन महानगरको प्राथमिकतामा रहेको बताए। उनका अनुसार सञ्चारमाध्यम लोकतन्त्र र सुशासनका महत्वपूर्ण आधार भएकाले कानुनले व्यवस्था गरेअनुसार सबै सञ्चारमाध्यमलाई समान अवसर प्रदान गरिनेछ।
उनले वीरगन्ज महानगर सञ्चारमाध्यम प्रवर्द्धनसम्बन्धी कानुन निर्माण गर्ने देशकै पहिलो स्थानीय तह भएको उल्लेख गर्दै कानुनी व्यवस्था अनुरूप स्थानीय सञ्चारमाध्यमलाई थप सशक्त बनाउन महानगर प्रतिबद्ध रहेको बताए।
महानगरको नयाँ निर्णयसँगै वीरगन्जबाट नियमित रूपमा प्रकाशित हुँदै आएका दर्जनौँ साप्ताहिक पत्रपत्रिका सूचीकरण प्रक्रियामा सहभागी हुन पाउने भएका छन्। यसबाट स्थानीय सञ्चार संस्था तथा तिनमा आबद्ध श्रमजीवी पत्रकार प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।
स्थानीय सञ्चारकर्मीहरूले महानगरपालिकाको यो निर्णयलाई स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र संस्थागत विकासतर्फको सकारात्मक तथा स्वागतयोग्य कदमका रूपमा स्वागत गरेका छन्।




