काठमाडौं,२५ असार । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कामकारबाही सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोधमा उत्रिएका हुन् ।
विपक्षी सांसदहरूको विरोधपछि सभामुख अर्यालले लामो समयदेखि एउटै विषयमा ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै संसद्को कामकारबाहीलाई मर्यादित र प्रभावकारी बनाउन आग्रह गरे ।
उनले सबै विपक्षी सांसदहरूको धारणा सुन्दा विषयवस्तु एउटै रहेको भन्दै विपक्षी बेन्चबाट एक जनाले मात्रै विषय राखेर बैठक अगाडि बढाउने प्रस्ताव गरे ।
त्यसपछि नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिइएको थियो । सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीम विवादसम्बन्धी अभिव्यक्तिबारे संसद्मा जवाफ आवश्यक रहेको बताइन् ।
उनले संसद्मा उठेका प्रश्नको जवाफ संसद्कै रोष्ट्रममा उभिएर दिनुपर्ने माग गर्दै सरकारलाई जवाफदेही बन्न आग्रह गरिन् ।




