रौतहट,२५ असार । रौतहटको गरुडा–कटहरिया सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएपछि स्थानीयवासीले तत्काल मर्मत–सम्भारको माग गरेका छन्। सडकमा परेका गहिरा खाल्डाखुल्डी, भत्किएको कालोपत्रे तथा कमजोर पानी निकासका कारण वर्षायाममा आवागमन थप जोखिमपूर्ण बनेको भन्दै उनीहरूले समयमै सुधार नभए सडक पूर्ण रूपमा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्।
स्थानीयका अनुसार सडकका विभिन्न भागमा २ देखि ३ फिटसम्म गहिरा खाल्डाखुल्डी बनेका छन्। वर्षा हुँदा ती खाल्डामा पानी र हिलो जम्ने भएकाले सवारी साधन फस्ने, दुर्घटनाको जोखिम बढ्ने तथा यात्रुहरूले निकै सास्ती भोग्नुपर्ने अवस्था रहेको छ। सुक्खा मौसममा भने भत्किएको कालोपत्रेका कारण अत्यधिक धुलो उड्दा सडक आसपासका बासिन्दाको जनजीवन प्रभावित हुँदै आएको छ। धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्नुका साथै घर, पसल र सार्वजनिक स्थानमा समेत प्रदूषण फैलिएको स्थानीयको गुनासो छ।
झाँझपुल–कटहरिया–बिर्ती सडक रौतहटको सदरमुकाम गौर तथा सर्लाहीसँग जोड्ने महत्वपूर्ण सडक हो। यस सडकबाट दैनिक हजारौँ यात्रु र सवारी साधन आवतजावत गर्ने भए पनि सडकको दयनीय अवस्थाका कारण छोटो दूरी पार गर्नसमेत लामो समय लाग्ने गरेको स्थानीय बताउँछन्।
व्यवसायीहरूका अनुसार सडक बिग्रिएकै कारण ढुवानीमा ढिलाइ हुने, सवारी साधन बारम्बार बिग्रिने र मर्मत खर्च बढ्दा व्यवसाय सञ्चालन प्रभावित भएको छ। किसानहरूले पनि कृषि उपज समयमै बजारसम्म पुर्याउन नसक्दा आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताएका छन्।
मोटरसाइकल चालकहरू सबैभन्दा बढी जोखिममा रहेको स्थानीयको भनाइ छ। सामान्य वर्षा हुँदा पनि खाल्डाखुल्डी पानीले ढाकिने भएकाले दुर्घटनाको सम्भावना बढ्ने गरेको उनीहरू बताउँछन्। एम्बुलेन्स, विद्यालय बस तथा सार्वजनिक यातायातका साधनसमेत सहज रूपमा सञ्चालन हुन नसक्दा बिरामी, विद्यार्थी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।
कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले झाँझपुल–कटहरिया–बिर्ती सडक यस क्षेत्रका हजारौँ नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको मुख्य सडक भएकाले यसको तत्काल मर्मत आवश्यक रहेको बताए।
उनले भने, “वर्षौँदेखि सडक जीर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायले आवश्यक चासो दिएको देखिँदैन। वर्षायाममा हिलो, पानी र खाल्डाखुल्डीका कारण यात्रु, विद्यार्थी, किसान तथा बिरामी सबैभन्दा बढी समस्यामा परेका छन्। त्यसैले सडकको तत्काल मर्मत–सम्भार गरी सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायसँग हाम्रो जोडदार माग छ।”
स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। उनीहरूले वर्षायामअघि सडक सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने तथा दीर्घकालीन रूपमा सडक स्तरोन्नति गरी गुणस्तरीय कालोपत्रे निर्माण गर्न माग गरेका छन्।
समयमै मर्मत कार्य सुरु नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत स्थानीयवासीले दिएका छन्।




