रौतहट,२५ असार । रौतहटको राजपुर नगरपालिकास्थित एक नहरमा बिहीबार बिहान २४ वर्षीया महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले मृत्युको कारण खुलाउन अनुसन्धान अघि बढाएको छ।
बिहीबार बिहान करिब ७ः२० बजे राजपुर नगरपालिका–३ अन्तर्गत राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा महिलाको शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक परोहा नगरपालिका–५ निवासी शेख मोबिनकी श्रीमती मुस्कान खातुन रहेको खुलेको छ। घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मृतकको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा उनी यसअघि पनि घरबाट हराएको र खोजतलासका लागि प्रहरीमा निवेदन परेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाका सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मात्रै यकिन हुने डीएसपी गौतमले बताएका छन्।




