spot_img

यात्रुलाई दुर्व्यवहार गर्ने ३२ बिचौलिया जडीबुटीबाट पक्राउ

spot_img
spot_img

काठमाडौं,२५ असार । सार्वजनिक सवारी साधनका यात्रुलाई हैरानी दिने तथा अभद्र व्यवहार गर्ने आरोपमा प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ।

उपत्यकाबाट पूर्वी जिल्लातर्फ जाने सवारी साधनका यात्रुलाई जबर्जस्ती बसमा चढाउन खोज्ने, झोला तानेर दुःख दिने तथा विशेषगरी महिला यात्रुप्रति दुर्व्यवहार गरेको गुनासो बढेपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।

प्रहरीका अनुसार जडीबुटीस्थित अरनिको यातायात बसपार्क आसपास सक्रिय बिचौलियाहरूले यात्रुलाई गन्तव्यसम्म पुर्‍याइदिने बहानामा अनावश्यक दबाब सिर्जना गर्ने, सामान खोस्न खोज्ने र अस्वाभाविक व्यवहार प्रदर्शन गर्ने गरेका थिए। बढ्दो गुनासोपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पक्राउ परेकाहरूको आपराधिक अभिलेख (सीआरएस) जाँच गरी थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीले सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उपत्यकाभर बिचौलियाविरुद्धको अभियानलाई निरन्तरता दिएको जनाएको छ। यसअघि बुधबार मात्रै बल्खु क्षेत्रबाट पनि यस्तै गतिविधिमा संलग्न १७ जनालाई पक्राउ गरिएको थियो।

सार्वजनिक यातायात क्षेत्रमा बिचौलियाको बढ्दो सक्रियताका कारण यात्रुहरूले असुरक्षित महसुस गरिरहेका बेला प्रहरीको पछिल्लो कारबाहीलाई यात्रुको सुरक्षा र यातायात व्यवस्थापन सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय