काठमाडौं,२५ असार । अमेरिकाले पछिल्ला दुई दिनमा इरानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमण पाँच वटा प्रान्तमा केन्द्रित थियो।
स्वास्थ्य मन्त्रालयको जनसम्पर्क तथा सूचना केन्द्रका प्रमुख हुसेन केर्मानपुरले सामाजिक सञ्जाल एक्समार्फत जुलाई ८ र ९ मा भएका आक्रमणमा हालसम्म १४ जनाको ज्यान गएको र ७८ जना घाइते भएको जानकारी दिएका छन्। घाइतेमध्ये ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।
दक्षिणपश्चिमी सहर अहवाज नजिक भएको आक्रमणमा मात्रै तीन जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्।
गत महिना भएको युद्धविराम समझदारी प्रभावहीन बनेपछि अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएको हो। होर्मुज जलमार्ग हुँदै गइरहेका तीन व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेको आरोप अमेरिकाले लगाएपछि वासिङ्टनले इरानका दक्षिणी तटीय क्षेत्रमा रहेका सैन्य संरचनामाथि लगातार हवाई आक्रमण सुरु गरेको थियो।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार अन्तर्राष्ट्रिय जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले वायुरक्षा प्रणाली, तटीय निगरानी केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन पूर्वाधार, नौसैनिक क्षमता र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का सैन्य अड्डासहित १७० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको छ।
यता, इरानले पनि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य सुविधालाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ, जसले दुई देशबीचको सैन्य टकरावलाई थप गम्भीर बनाएको छ।
दुई देशबीच तनाव कम गर्ने उद्देश्यले जुन १७ मा पाकिस्तानको मध्यस्थतामा भएको समझदारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार समाप्त भएको घोषणा गरेपछि युद्धविराम औपचारिक रूपमा अन्त्य भएको मानिएको छ। त्यससँगै अमेरिका–इरान सम्बन्ध पुनः प्रत्यक्ष सैन्य द्वन्द्वको नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ।




