काठमाडौं,२५ असार । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नियमित महाधिवेशन पक्षधर समूह लामो समयदेखि स्पष्ट निर्णयविहीन अवस्थामा रहेको भन्दै शीर्ष नेतृत्वलाई अब ढिलाइ नगरी स्पष्ट मार्गचित्र प्रस्तुत गर्न आग्रह गरेका छन्।
काठमाडौंको चुनदेवीमा बुधबार आयोजित नियमित महाधिवेशन पक्षधर समूहको बैठकमा बोल्दै विश्वकर्माले समूहको वर्तमान अवस्थालाई “पार्किङमा राखिएको गाडी”सँग तुलना गर्दै यस्तो अवस्थामा धेरै समय रहिरहे नेता–कार्यकर्ता टाढिने चेतावनी दिए।
उनले नेता तथा कार्यकर्ताले समूहप्रतिको विश्वास क्रमशः गुमाउँदै गएको उल्लेख गर्दै नेतृत्वले छिट्टै ठोस निर्णय लिनुपर्ने आवश्यकता औँल्याए। पार्टी सभापति शेरबहादुर देउवालाई चाँडै सक्रिय भूमिका खेल्नुपर्ने दबाब बढिरहेको उल्लेख गर्दै उनले आफूहरूसँग सार्वजनिक रूपमा राख्ने स्पष्ट धारणा नहुँदा सञ्चारमाध्यमसँग समेत बोल्न कठिन भइरहेको बताए।
विश्वकर्माले शीर्ष तहबाट निष्कर्ष आउन ढिलाइ हुँदा कार्यकर्तामा अन्योल, निराशा र असन्तुष्टि बढ्दै गएको बताए। आफूले पार्टीमा लामो समय योगदान दिँदै विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको स्मरण गराउँदै आवश्यक नठाने नियमित महाधिवेशन पक्षधर समूहबाट आफ्नो नाम हटाउन पनि तयार रहेको संकेत गरे।
पछिल्ला पाँच महिनादेखि अनिश्चितताको वातावरणले नेता–कार्यकर्ताको मनोबल कमजोर बनाएको उल्लेख गर्दै उनले यस्तै अवस्था कायम रहे धेरै साथीहरू मानसिक तनावमा पुग्न सक्ने अवस्था सिर्जना भएको बताए। अब सम्पर्क कार्यालय सञ्चालनमा आइसकेकाले सचिवालय गठन गर्ने, क्रियाशील सदस्य तथा भ्रातृ एवं शुभेच्छुक संस्थासँग समन्वय बढाउनेलगायत संगठन विस्तारका काम तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए।
बैठकमा राष्ट्रिय भेला गर्ने विषयमा छलफल भए पनि तत्काल मिति तय गरिएन। समूहले आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउने तथा त्यसपछि आवश्यक परामर्श गरेर राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको जनाएको छ।




