बीरगन्ज,२५ असार । बीरगन्जस्थित नारायणी अस्पतालमा बहुप्रतीक्षित क्याथ ल्याब (Cath Lab) सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार क्याथ ल्याब उपकरण जडानको काम लगभग सम्पन्न भइसकेको छ र आवश्यक प्राविधिक तयारी पूरा भएपछि सेवा चाँडै सञ्चालनमा ल्याइनेछ।
२०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब मेसिन विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन। अहिले जडान कार्य अन्तिम चरणमा पुगेपछि अस्पतालले मुटुरोगसम्बन्धी विशिष्टीकृत परीक्षण तथा उपचार सेवा सुरु गर्ने तयारीलाई तीव्रता दिएको जनाएको छ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशका बिरामीहरूलाई मुटुसम्बन्धी परीक्षण, एन्जियोग्राफी, एन्जियोप्लास्टी लगायतका सेवाका लागि काठमाडौं वा अन्य ठूला शहर धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ। यसबाट समयमै उपचार, आर्थिक भारमा कमी र बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास मन्त्रालयको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सेवा सञ्चालनसँगै नारायणी अस्पताल क्षेत्रीय स्तरकै मुटुरोग उपचार केन्द्रका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गरेको छ। यसले मधेस प्रदेशसहित आसपासका जिल्लाका हजारौं बिरामीलाई आफ्नै प्रदेशमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।




