वीरगन्ज,२५ असार । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइएको भन्दै स्थानीयवासीले बिहीबार विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पुतला दहन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
प्रदर्शनकारीहरूले लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट कार्यान्वयन, विकास निर्माणका योजना, भुक्तानी प्रक्रिया तथा दैनिक सेवा प्रवाह प्रभावित भएको आरोप लगाए। उनीहरूले संघीय सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन माग गरेका छन्।
प्रदर्शनका क्रममा ‘मौलापुरको बजेट फ्रिज गराउन पाइँदैन’, ‘मौलापुरमा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाऊ’ तथा ‘अदालतको आदेश कार्यान्वयन गर’ जस्ता नाराहरू लगाइएको थियो।
स्थानीयका अनुसार सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले जिम्मेवारी सम्हाल्न नआएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो। त्यसयता नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा प्रशासनिक कामकाज प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगर शिक्षकहरूले छ महिनादेखि तलब नपाएको भन्दै यसअघि पेनडाउन आन्दोलन गरेका थिए। त्यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही र सरसफाइ कर्मचारीहरूले पनि लामो समयदेखि भुक्तानी नपाएको गुनासो गर्दै आएका छन्।
यसैबीच, मौलापुर नगरपालिकाकी प्रमुख रिना साहले संघीय सरकारले नियोजित रूपमा प्रमुख प्रशासकीय अधिकृत नपठाएर स्थानीय तहलाई प्रशासनिक संकटमा धकेलेको आरोप लगाएकी छन्। उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको रिक्तताका कारण बजेट कार्यान्वयन, विकास निर्माणका योजना र भुक्तानी प्रक्रिया ठप्पजस्तै बनेका छन्।
मेयर साहले सर्वोच्च अदालतले नगरपालिकाका जनमुखी कार्यक्रम तथा विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवाको भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको भए पनि प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण ती आदेश प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइन्।
यस विषयमा प्रधानमन्त्रीको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन। सम्बन्धित निकायको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ।




