काठमाडौं,२५ असार । आर्थिक वर्षको अन्तिम चरणमा पुगेसँगै सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। बुधबार मात्रै सरकारले विभिन्न शीर्षकमा १७ अर्ब ९ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ।
सरकारी नियमअनुसार आज (२५ असार) भुक्तानीका लागि चेक जारी गर्ने अन्तिम दिन भएकाले सरकारी कार्यालयहरूमा भुक्तानीको चाप अत्यधिक बढेको छ। यसकै प्रभावस्वरूप स्थानीय तहमा प्रयोग हुने ‘सूत्र’ प्रणाली मा देशभर प्राविधिक समस्या देखिएको छ। आर्थिक वर्षको अन्त्यतिर भुक्तानीको चाप बढ्दा यस्तो समस्या हरेक वर्ष दोहोरिने गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबारसम्म सरकारले १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ खर्च गरिसकेको छ। अघिल्लो दिन मंगलबारसम्म यो खर्च १५ खर्ब १४ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।
यद्यपि, विकास निर्माणतर्फको पूँजीगत खर्च भने अपेक्षाअनुसार बढ्न सकेको छैन। बुधबारसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड रुपैयाँ पूँजीगत खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको करिब ४० प्रतिशत मात्र हो। चालु आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ७ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो।
चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट कार्यान्वयनमा रहेको छ।
उता, राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन। सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा बुधबारसम्म ११ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ, जुन लक्ष्यको ७८.१५ प्रतिशत हो।
आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा सरकारको खर्च तीव्र गतिमा बढे पनि विकास बजेट खर्च र राजस्व संकलन भने लक्ष्यभन्दा अझै उल्लेख्य रूपमा पछाडि रहेका छन्।




