काठमाडौं,२५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू मौन बसेको भन्दै संसदमै प्रश्न उठाएकी छन्। उनले राष्ट्रहितको विषयमा सत्तापक्षको मौनता इतिहासले ‘लाचारीपन’का रूपमा मूल्यांकन गर्ने टिप्पणी गरिन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरिन्।
उनले भनिन्, “यदि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितअनुकूल हो भन्ने लाग्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुस्। यदि होइन भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुस्।”
प्रधानमन्त्री बालेन्द्र शाहले गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। त्यसयता विपक्षी दलहरूले उक्त भनाइको तथ्य सार्वजनिक गर्न वा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले यसबारे थप स्पष्टीकरण दिएका छैनन्।
ओलीले राष्ट्रको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा सत्तापक्षको मौनता आफैंमा एउटा राजनीतिक सन्देश भएको बताइन्।
उनले प्रश्न गरिन्, “राष्ट्रको विषय आउँदा सत्तापक्षका सांसदहरूको आवाज किन सुनिँदैन? तीन करोड नेपालीले तपाईंहरूको मौनतालाई कसरी बुझ्ने?”
खुस्बुले नेता वा दलप्रतिको निष्ठाभन्दा राष्ट्रिय स्वाभिमान माथि हुनुपर्ने उल्लेख गर्दै इतिहासले प्रतिपक्षले बोलेको मात्र नभई सत्तापक्ष कहिले बोल्यो र कहिले मौन रह्यो भन्ने पनि मूल्यांकन गर्ने बताइन्।
उनले भनिन्, “आजको तपाईंहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ। भोलि इतिहासले राष्ट्रको प्रश्नमा मौन बसेकाहरूलाई पनि कठघरामा उभ्याउनेछ।”
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसदमा विवाद जारी रहँदा रास्वपाका सांसदहरूले भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।




