बीरगन्ज,२५ असार । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनाको विरोधमा गाउँपालिकाको कामकाज लगातार तीन दिनदेखि ठप्प भएको छ। दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले पेनडाउन आन्दोलन जारी राखेका छन्।
गत मंगलबार कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्र चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। आन्दोलनका कारण गाउँपालिकाको प्रशासनिक सेवा मात्र होइन, गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य चौकीको सेवा पनि प्रभावित भएको छ।
घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको र मुख्य आरोपितहरूलाई पक्राउ नगरेको आरोप लगाउँदै आन्दोलनरत कर्मचारीहरूले बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्ना दिएका छन्।
कर्मचारीहरूले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जयकुमार पटेल, गाउँपालिका–२ निवासी आफूलाई जेजी अगुवा बताउने राजनिश कुशवाहा र हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता नगरेको बताएका छन्। घटनाको सीसीटीभी फुटेजमा कुटपिट स्पष्ट देखिएको दाबी गर्दै उनीहरूले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
कर्मचारीहरूले सरकारी कार्यालयभित्र कार्यरत कर्मचारीमाथि भएको आक्रमण सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमण भएको उल्लेख गर्दै दोषीलाई संघीय कानुनअनुसार कारबाही, कर्मचारीको सुरक्षा सुनिश्चित तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, प्रशासनिक सेवा प्रभावित भएको र सुशासनमा समेत नकारात्मक असर परेको बताए।
गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताले कर्मचारीमाथि भएको कुटपिट निन्दनीय भएको भन्दै घटनामा संलग्न जो–कोहीलाई पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताए।
यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ का रामबालक साह कानु र अरविन्द चौरसियालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ।
साथै, घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




