काठमाडौं,२५ असार । भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले सुरक्षित पुनर्स्थापना, बास अधिकार र भू–स्वामित्वको सुनिश्चितताको माग गर्दै बिहीबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले कुनै पनि परिवारलाई सुरक्षित पुनर्स्थापनाको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट नहटाउन सरकारसँग माग गरेका छन्। उनीहरूले संविधान र कानुनले प्रत्याभूत गरेको आवासको अधिकार कार्यान्वयन गर्दै सम्मानजनक र दिगो बसोबासको व्यवस्था गर्नुपर्ने बताएका छन्।
उनीहरूको प्रमुख मागमा गास, बास र कपासको सुनिश्चितता, भू–स्वामित्वसहितको स्थायी आवास, तथा सुरक्षित पुनर्स्थापना रहेको छ। सरकारले विगतमा गरेका प्रतिबद्धता र आश्वासनहरू कार्यान्वयन गरी समस्या समाधान गर्न उनीहरूले आग्रह गरेका छन्।
प्रदर्शनकारीहरूले यदि पुनर्स्थापना गर्ने हो भने घर भत्काइएको स्थानमै वा कानुनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी व्यवस्थापन गर्नुपर्ने माग पनि राखेका छन्।
माइतीघरमा भएको प्रदर्शनका क्रममा उनीहरूले ‘बोल्न दे’, ‘मानव अधिकारको प्रत्याभूति गर’, ‘बास अधिकार सुनिश्चित गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।




