काठमाडौं,२५ असार । चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी बजेटबाट भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि सरकारी खाताबाट बजेट निकासा बन्द गर्नुपर्ने व्यवस्था भएकाले आज राति १२ बजेदेखि सबै तहका सरकारी निकायको खाता बन्द गरिनेछ।
यो व्यवस्था संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेका खर्च आगामी आर्थिक वर्षको बजेट व्यवस्था अनुसार मात्रै गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
सरकारी तथ्यांकअनुसार बुधबारसम्म चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ अर्थात् करिब ७८ प्रतिशत बजेट खर्च भएको छ।
चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये ८७.२५ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँमध्ये करिब ४० प्रतिशत मात्रै खर्च हुन सकेको छ। वित्तीय व्यवस्थातर्फ भने ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँमध्ये ९०.१७ प्रतिशत बजेट उपयोग भएको छ।
अन्तिम दिन भएकाले सरकारी भुक्तानीको चाप अत्यधिक रहने अनुमान गरिएको छ। बुधबार मात्रै सरकारी खाताबाट १७ अर्ब ९ करोड रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो। त्यसअघि मंगलबार ११ अर्ब ७६ करोड र सोमबार २८ अर्ब ५५ करोड रुपैयाँ निकासा गरिएको थियो।
आज अन्तिम दिन भएकाले स्थानीय तह, सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभागलगायत विभिन्न सरकारी निकायमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने काम तीव्र रूपमा भइरहेको छ। यद्यपि, चालू खर्चको तुलनामा विकास निर्माणसँग सम्बन्धित पूँजीगत बजेट खर्च भने अपेक्षाकृत कमजोर देखिएको छ।




