spot_img

पोखरिया नगरपालिकामा भत्ता हिनामिना प्रकरण, दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगन्ज,२५ असार । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण अनधिकृत रूपमा परिवर्तन गरी सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुद्दा खेप्नेमा पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका सञ्जयकुमार पाण्डेय, अपाङ्ग शाखामा कार्यरत तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट तथा पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउत कुर्मी रहेका छन्।

आयोगको अनुसन्धानअनुसार महेन्द्र राउत कुर्मीलाई स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा अपाङ्गता समन्वय समितिले २०७८ असोज ११ गते ‘Y (ग)’ श्रेणीको अपाङ्गता परिचयपत्र प्रदान गरेको थियो। उक्त श्रेणीका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था भए पनि कर्मचारीहरूले मिलेमतोमा सरकारी अभिलेखमा रहेको विवरण केरमेट गरी ‘Red (क)’ श्रेणी कायम गरेको आरोप लगाइएको छ।

अख्तियारका अनुसार विवरण परिवर्तनपछि सामाजिक सुरक्षा भत्ता पाउने गरी नयाँ परिचयपत्र प्रमाणित गराई १ लाख ९१ हजार ५२० रुपैयाँ बराबरको सरकारी रकम अनियमित रूपमा भुक्तानी गरिएको थियो।

उक्त घटनामा संलग्न तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १ लाख ९१ हजार ५२० रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना, बिगो असुल तथा कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुख्य प्रतिवादी रहेका दुई कर्मचारीमाथि सरकारी अभिलेख सच्याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ भने लाभ लिने महेन्द्र राउत कुर्मीलाई मतियारको भूमिकामा संलग्न रहेको भन्दै मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय